logo

२०८१ साउन ३ बिहिबार

logo
  • बिहिबार, ३ साउन २०८१
  • महिला मुक्तिको लागि गर्नुपर्छ पुरुषत्वको अध्ययन

    महिला मुक्तिको लागि गर्नुपर्छ पुरुषत्वको अध्ययन

    • Khabar kura
    • बुधबार, २४ माघ २०८०
    364
    SHARES

    पुरुषत्वको अध्ययन लैंगिक समानता र न्याययुक्त समतामूलक समाज स्थापनाको लागि महत्वपूर्ण छ । लैंगिक समानता प्राप्तिको लागि पुरुषप्रधान समाजको जग कमजोर पार्नु आवश्यक छ । सबैले नलागिकन पितृसत्ताको जग कमजोर हुँदैन । किनकि यसले धर्म, संस्कृति, अर्थतन्त्र, राजनीति सबै किसिमबाट आफ्नो प्रभुत्व कायम राख्न कोसिस गर्दछ ।



    पुरुषप्रधान समाजको जग कमजोर पार्न प्राज्ञिक क्षेत्रबाट पनि सम्भव छ भन्ने कुरा व्यक्तिगत रूपमा हामी आफैंले पनि महसुस गरेका छौं र विविध अध्ययन अनुसन्धानले पनि यो देखाएको छ ।

    यो खोजमूलक लेखले तीनवटा मूल प्रश्नहरू (किन पुरुषत्वको अध्ययन महत्वपूर्ण छ ? नारीवाद र यो अध्ययनको सम्बन्ध कस्तो छ ? साथै, पुरुषत्वको अध्ययनको मुख्य चुनौती के के हुन्) को जवाफ खोज्ने प्रयास गरेको छ ।

    यसको लागि लैंगिक अध्ययनका १५ जना पुरुष विद्यार्थीसँग पाँच वर्षबीचमा गरिएको लामो र गहिरो कुराकानी नै सूचनाको प्रमुख आधार रहेको छ । त्यो बाहेक, लैंगिक अध्ययनसँग जोडिएका शिक्षक, विद्यार्थी र पुरुषत्व, पितृसत्ता र नारीवादसँग सम्बन्धी लेखहरू सूचनाका थप आधारहरू हुन् ।

    लैंगिक अध्ययनसँगको मेरो लामो जोडाइकोे क्रममा पुरुष विद्यार्थीको कुराकानी, पुरुष भएकै कारणले उनीहरूले पाएका सुविधा र भोग्नुपरेका चुनौतीको बारेमा जान्ने, बुझ्ने मौका पनि मिलेको छ ।

    पुरुषमुखी समाजले अर्थात् पितृसत्ताले महिलालाई विविध किसिमबाट मारमा पारेको विषयमा गहिरो रुचि राख्ने म र म जस्ता कैयौंलाई पितृसत्ताको मारको प्रकृति फरक भएतापनि पुरुषहरू पनि यसबाट उम्किन सकेका छैनन् । बरु आफैंलाई, प्रसिद्ध नारीवादी कमला भासिनको शब्द सापटी लिएर, यसको बाहक बनाएर वा बन्न दिएर मानवीय भावनाविहीन बनिरहेका छन् ।

    त्यसको फाइदाको साथै नकारात्मक असर पनि भोगिरहेका छन् भन्ने बुझाइ आफैंमा महत्वपूर्ण छ ।

    तर सबै पुरुषहरू पितृसत्ताको वाहक मात्र बनेका छैनन्, केही लैंगिक रूपमा सचेत पुरुषहरू लामो समयदेखि महिलाको लागि पितृसत्तालाई चुनौती दिन र हाल आएर आफ्नै लागि पनि पुरुषमुखी समाजको जालोबाट उम्किने प्रयासमा पनि छन् । पितृसत्तालाई चुनौती दिन पनि तयार देखिन्छन् । चुनौति दिने प्रयासहरू विविध छन् । तर उद्देश्य एकै छ ।

    उदाहरणको लागि महिलामाथि हुने विभेद, उत्पीडन वा हिंसा अन्त्यको लागि पुरुषहरूको सञ्जाल मेन्स इन्गेजमेन्ट अलाइन्सेज साउथ एसिया, मेन्स इन्गेजमेन्ट अलाइन्स नेपाल, महिलाका लागि पुरुष अभियान हि फर सि क्याम्पेन, संयुक्त राष्ट्रसंघ इत्यादि ।

    यही प्रयासको क्रममा कतिले लैंगिक अध्ययनलाई आफ्नो पढाइको विषय बनाएका छन् । प्राज्ञिक क्षेत्रद्वारा आफू र समाजलाई बदल्न सकिन्छ भन्ने बलियो विश्वासको साथमा उनीहरू आएका छन् । उनीहरूलाई लाग्छ, लैंगिक समानता र न्याययुक्त समतामूलक समाजको निर्माणको लागि लैंगिक अध्ययन एक सशक्त माध्यम हुनसक्छ ।

    लैंगिक अध्ययनले महिलाको जीवन मात्र बदल्ने होइन, पुरुषलाई लैंगिक दृष्टिकोण प्रदान गर्न पनि धेरै हदसम्म सफल भएको देखिन्छ । मैले लैंगिक अध्ययनका पुरुष विद्यार्थीहरूसँग गरेको कुराकानीले पनि यो देखाउँछ ।

    एक विद्यार्थीको भनाइ यहाँ सान्दर्भिक देखिन्छ । उनी भन्छन्, ‘यो पढाइले मलाई त अर्र्कै मान्छे बनाइदियो । सोच नै फराकिलो बनाइदियो । पहिला महिलाहरू धेरै अधिकारबाट वञ्चित छन्, उनीहरूलाई अधिकार दिनुपर्छ भन्ने लाग्थ्यो । अब त पितृसत्तात्मक समाजले महिलालाई मात्रै होइन, हामी पुरुषहरूलाई पनि पुरुषत्वको भारी बोकाएर अन्याय गरिरहेको छ, त्यसैले पितृसत्ता कमजोर पार्न सबै लाग्नुपर्छ जस्तो लाग्छ ।’

    हो, सबैले नलागिकन पितृसत्ताको जग कमजोर हुँदैन, किनकि यसले धर्म, संस्कृति, अर्थतन्त्र, राजनीति सबै किसिमबाट आफ्नो प्रभुत्व कायम राख्न कोसिस गर्दछ । एक क्षेत्रमा कमजोर भयो भने अर्को क्षेत्रबाट प्रभाव कायम राखिराख्छ । यति मात्र नभई बदलिंदो समाज अनुरूप नयाँ नयाँ स्वरुपमा पनि देखापर्ने गर्दछ । उदाहरणको लागि कार्यालयमा हुने यौनजन्य हिंसा ।

    पहिला पहिला छोरीलाई स्कुल पढाउँदैनथे, छोरी बिग्रिएली भनेर । यसरी घरबाट महिलाको यौनिकता र हिंडडुलमा बन्देज लाग्थ्यो । तर आजकाल प्रायः सबै महिला स्कुल जान्छन् । घरले नै प्रेरित गर्छ स्कुल जान । त्यसैले यौनिकताको प्रश्न पनि गौण भएर गयो, यो विषयमा ।

    पुरुषप्रधान समाजको जग कमजोर पार्न प्राज्ञिक क्षेत्रबाट पनि सम्भव छ भन्ने कुरा हामी आफैंले पनि महसुस गरेका छौं । नारीवादी बन्दै गएका शिक्षक, त्यसमध्ये कति जनालाई नारीवादी हुँ भन्न अझै सहज छैन, मलाई पनि थिएन लामो समयसम्म, विद्यार्थीहरूमा बढ्दै गएको नारीवादी सोच र उनीहरूले व्यक्त गरेका भावनाहरू यसका उदाहरण हुन् ।

    आजकाल कार्यालय जाने महिलाको संख्या बढेर गएको छ । त्यहाँ यौनजन्य हिंसा पनि बढ्दो छ । कार्यालयमा हुने यौनजन्य हिंसा हुन्छ र अब यसको प्रतिकार गर्नुपर्छ भनेर सन् २०१७ मा अमेरिकाबाट मी टु आन्दोलन सुरुवात भयो र संसारभरि नै विविध रूपमा यो आन्दोलन चलिरहेको छ ।

    यसको मूल अर्थ पितृसत्ता कमजोर छैन । घरभित्रको पितृसत्ता कमजोर भए पनि घरबाहिर यो नयाँ रूपमा देखापर्न सक्छ भन्ने नै हो । जसलाई नारीवादी समाजशास्त्री सिल्विया वाल्बीले आफ्नो पुस्तक थ्योराइजिङ पेट्रिआर्कीमा घरभित्रको पितृसत्ता र घरबाहिरको पितृसत्ता भनी नाम दिएकी छिन् ।

    त्यसैले जहाँबाट, जहिले, जसरी र जसको मार्फतबाट भए पनि पुरुषप्रधान समाजको जग कमजोर पार्न लागिपर्नुपर्छ । र यो उद्देश्यमा लागेका जो कोही पनि, पुरुष, महिला, लैंगिक तथा यौनिक अल्पसंख्यक, महत्वपूर्ण व्यक्ति हुन् भनी उनीहरूको सानोभन्दा सानो प्रयासलाई पनि कदर गर्न सिक्नुपर्छ । जसले उनीहरूलाई यस क्षेत्रमा लागिरहन मद्दत गर्छ ।

    उदाहरणको लागि पुरुषहरूलाई पनि जो नारीवादी क्रियाकलापमा लागेका हुन्छन्, उनीहरूलाई अपनत्व सहित हौसला दिनाले अझ बढी नारीवादी बन्न प्रेरित गर्छ भन्ने विषयमा लेखहरू प्रकाशित भइरहेका छन् ।

    पुरुषप्रधान समाजको जग कमजोर पार्न प्राज्ञिक क्षेत्रबाट पनि सम्भव छ भन्ने कुरा हामी आफैंले पनि महसुस गरेका छौं । नारीवादी बन्दै गएका शिक्षक, त्यसमध्ये कति जनालाई नारीवादी हुँ भन्न अझै सहज छैन, मलाई पनि थिएन लामो समयसम्म, विद्यार्थीहरूमा बढ्दै गएको नारीवादी सोच र उनीहरूले व्यक्त गरेका भावनाहरू यसका उदाहरण हुन् ।

    सन् १९९० को दशकमा जुनवेला भर्खरै महिला अध्ययनको सुरुवात भएको थियो, त्यहाँ पढ्ने एक जना महिला विद्यार्थीले आफ्नो अध्ययनमा संलग्नता, बढ्दै गएको नारीवादी सोच र त्यसले निम्त्याएको समस्याको बारेमा मसँग खुलेर कुराकानी गरेकी थिइन् ।

    उनी भन्छिन्, ‘म बोल्ने भएँ । यो अध्ययनले मलाई अन्यायको विरुद्धमा बोल्ने हौसला दियो तर बोल्ने महिला घरपरिवारलाई चाहिंदैन रहेछ । मलाई मेरै श्रीमानले कि नारीवादी बन्न छोड, कि यो घर छोडेर जाऊ भनी धम्क्याउनुभयो । त्यसैले मलाई आजकाल असल महिलामा गनिंदैन घरमा, बढी जान्नेको रूपमा हेरिन्छ, तर म अब चुप लाग्दिनँ ।’

    उनको भनाइ ‘म बोल्ने भएँ’ नै पितृसत्ताको लागि चुनौती हो । त्यसरी नै एकजना लैंगिक अध्ययनका पुरुष विद्यार्थीमा आएको परिवर्तन पनि महत्वपूर्ण छ ।

    उनी भन्छन्, ‘यो अध्ययनबाट मैले प्राप्त गरेको लैंगिक दृष्टिकोण मेरो लागि महत्वपूर्ण छ किनकि यसले मलाई आफ्नै जीवनमा विषाक्त पुरुषपनलाई अनुभव गर्ने र चुनौती दिने आँट दियो । पुरुषले नै घरपरिवारको सम्पूर्ण जिम्मा लिनुपर्छ भन्ने मान्यतालाई पुनःपरिभाषित गर्न हौसला दियो ।’

    तर पुरुष विद्यार्थीहरूसँगको कुराकानीबाट थप के कुरा पनि थाहा भयो भने लैंगिक अध्ययनमा पुरुष र पुरुषत्वको बारेमा जति पठनपाठन हुनुपर्ने हो, त्यो हुनसकेको छैन । यसमा एक जना पुरुष विद्यार्थीको भनाइ सान्दर्भिक देखिन्छ ।

    उनी भन्छन्, ‘लैंगिक अध्ययन भने तापनि मलाई त यो महिला अध्ययन नै जस्तो लाग्छ किनकि महिलाकै विविध पक्षहरूमा धेरै कुराकानी हुन्छ, उनीहरूकै जीवन उकास्न राज्य, महिला, पुरुष, संघसस्था, सबै लागिपरेका छन्, जुन कुरा आवश्यक त हो तर हाम्रो बारेमा कसले बोल्ने ?’ अर्को विद्यार्थी थप्छन्, ‘पुरुष भएको नाताले हामीलाई देखिने रूपमा केही सुविधा भए पनि हामीले भोग्नुपर्ने समस्या पनि थुप्रै छन्, कसले बुझ्छ खै !’

    हाम्रा जीवन भोगाइहरूको बारेमा पनि बढीभन्दा बढी छलफल हुनुपर्छ । हाम्रा समस्याहरू पनि महत्वपूर्ण मानिनुपर्छ तर कसैलाई फुर्सद नै छैन पुरुषको बारेमा सोच्ने, सबै जना महिलाकै लागि भ्याई–नभ्याई लागिपरेका छन् ।

    अर्को विद्यार्थी जो समाजले भने अनुसारको पुरुष हुन कति गाह्रो छ भन्ने कुरालाई आफ्नो अनुभवमा यसरी ढालेर हेर्छन् । उनी भन्छन्, ‘सानो छँदा स्कुलमा लुरे भनेर जिस्काउँथे, म खेलकुदमा उनीहरूसँगै लाग्न सक्दिनथें । त्यसैले मलाई हेप्थे । मेरो कहिल्यै पनि धेरै केटा साथी भएनन् । मलाई एक्लो अनुभव हुन्थ्यो । र सोच्थें— के सबै केटामान्छे बलियो नै हुनुपर्छ ? पुरुष पुरुषबीचको भिन्नता पनि केलाउनु आवश्यक हुन्छ । लैंगिक अध्ययनले अझ बढी यो कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई त ।’

    पक्कै पनि सबै पुरुषहरू एकै प्रकारका हुँदैनन् । जात, धर्म, वर्ग, यौनिकता र भूगोल, इत्यादिको आधारमा उनीहरू विविध हुन्छन् । त्यसैले उनीहरूको जीवन भोगाइ पनि फरक हुन्छ ।

    उनीहरूको जीवन बुझ्नको लागि किम्वर्ली विलियम्स क्रिह्यान्स, जसले सन् १९८९ मा पहिलो पल्ट इन्टरसेक्शनालिटी शब्द प्रयोग गरेकी थिइन्, भने जस्तै उनीहरूको विविध सामाजिक परिचयहरू जस्तो कुन जात, वर्ग, यौनिकता वा धर्मको भनी बुझ्नु जरूरी देखिन्छ ।

    यी अनुभवमा आधारित भनाइहरूले पुरुष र पुरुषत्वको अध्ययन आवश्यक छ भन्ने देखाउँछ । पुरुषत्वको अध्ययनको सुरुवात नै यस्तै अनुभवहरूबाट भएका छन् ।

    पुरुषत्वको बारेमा धेरै व्यक्तिहरूले, खासगरी पुरुषहरूले कलम चलाएका छन् । नेपालमै पनि यस विषयमा लेखहरू आइरहेका छन् । यस अर्थमा यो लेख कुनै नौलो होइन । तैपनि महिला अध्ययन, लैंगिक अध्ययन जस्तै पुरुषत्वको अध्ययन पनि आवश्यक छ पितृसत्तालाई चुनौती दिन भन्ने एक बलियो विश्वास बोकेको व्यक्तिको नाताले प्राज्ञिक क्षेत्रमा पुरुषत्वको अध्ययनको महत्व र यसलाई कसरी अगाडि बढाउन सकिन्छ भनी सोच्न र यसबारेमा केही लेख्न मेरो पनि विषयगत जिम्मेवारी हो जस्तो लागेर पनि यो लेख लेख्ने प्रयास गरेकी हुँ ।

    थप, पुरुषत्वको बारेको छलफल र अध्ययन जति भयो, त्यति नै राम्रो किनकि जहाँबाट, जहिले, जसरी र जसको मार्फतबाट भए पनि पुरुषप्रधान समाजको जग कमजोर पार्न लागिपर्नुपर्छ । अन्त्यमा, मलाई आफूलाई नै यो विषयलाई थप बुझ्ने इच्छा छ । त्यसैले पनि यो लेख लेख्ने आँट गरेकी हुँ । यो लेख मार्फत मूल रूपमा तलका प्रश्नहरूको जवाफ खोज्ने प्रयास गरेकी छु ।

    सूचना बटुल्ने विधि

    लामो र गहिरो कुराकानी, जुन सही सूचना बटुल्न नारीवादीहरूले सन् १९६० देखि नै प्रयोग गर्दै आएको औजार हो, द्वारा मैले यो लेखको लागि सूचना बटुल्ने प्रयास गरें । यसको लागि मूल रूपमा लैंगिक अध्ययनका १५ जना पुरुष विद्यार्थीसँग पाँच वर्षभित्रमा गरिएको कुराकानी नै सूचनाको प्रमुख आधार रहेको छ ।

    उमेरको हिसाबले २० देखि ४० वर्ष बीचका यी पुरुषहरू प्रायःजसो विवाहित र उच्च जातका छन् । केही नेवार र थोरै जनजाति भएतापनि दलित र मधेशी विद्यार्थी मेरो रिसर्चमा पर्दैनन् । नपर्नुको कारण मैले सूचना बटुञ्जेलसम्म उनीहरू जेन्डर स्टडिजमा विद्यार्थीको रूपमा थिएनन् । हाल आएर थोरै संख्यामा भए पनि उनीहरू यस विषयमा भर्ना भएका छन् ।

    लैंगिक अध्ययनमा संलग्न प्राध्यापक, महिला विद्यार्थी र महिला अध्ययनका विद्यार्थीसँगका अनौपचारिक कुराकानीहरू पनि थप सूचनाका आधार हुन् । त्यो बाहेक यो अध्ययनकोे आवश्यकताको बारेमा एक सानो छलफल र यस विषयका लेखहरूलाई थप सूचनाको रूपमा प्रयोग गरेकी छु । यस विषयमा मेरो आफ्नै अवलोकनले पनि प्राप्त सूचनाहरूलाई एकठाउँमा एकत्रित पार्न मद्दत गरेको छ ।

    पुरुषहरू पनि महिलाको हकहितको लागि आवाज उठाउने क्रममा पितृसत्ताबाट महिला मात्रै नभई पुरुषहरू पनि पीडित छन् । त्यसैले पितृसत्तासँगको लडाइँ वा यसलाई चुनौती दिनु अनिवार्य छ भन्ने अठोटमा पुगेका देखिन्छन् ।

    पुरुषत्व भन्नाले पितृसत्तात्मक समाजले पुरुषलाई दिएको सामाजिक परिचय हो । जसको बारेको छलफलको सुरुवात खासगरी सत्तरीको दशकमा भएको हो । जसरी तेस्रो विश्वका महिलाहरूलाई आफ्नो देशलाई उपनिवेशवादबाट मुक्त गराउन पुरुषहरूसँगै होमिने क्रममा महिलावादी सोच पलाएको देखिन्छ, फलस्वरुप उनीहरू महिला भएकै कारणले आफूमाथि हुने विभेद अन्त्य गर्न लाग्नुपर्छ भन्ने अठोटमा पुगेका थिए, जसलाई तेस्रो विश्वको महिलावाद पनि भनिन्छ ।

    त्यसरी नै पुरुषहरू पनि महिलाको हकहितको लागि आवाज उठाउने क्रममा पितृसत्ताबाट महिला मात्रै नभई पुरुषहरू पनि पीडित छन् । त्यसैले पितृसत्तासँगको लडाइँ वा यसलाई चुनौती दिनु अनिवार्य छ भन्ने अठोटमा पुगेका देखिन्छन् । यसको लागि पुरुष र पुरुषत्वको बारेमा गहन छलफल र अध्ययन हुनुपर्छ भन्ने उनीहरूको थप बुझाइ हो ।

    पहिलो पुरुषको अध्ययनको सुरुवात सन् १९७३ मा युनिभर्सिटी अफ क्यालिफोर्निया, वर्कलेमा भयो । त्यसपछि संसारका विभिन्न भागमा यस्ता अध्ययनहरू फैलिने क्रममा छन् । इन्डियामा सन् २००३ मा पुना युनिभर्सिटीमा पुरुषका बारेमा अध्ययन गर्ने विधाको सुरुवात भएको देखिन्छ । नेपालमा हाल आएर प्राज्ञिक क्षेत्रमा यसको आवश्यकताको बारेमा बहस सुरु भएको छ ।

    पुरुषत्वको अध्ययन किन ?

    पुरुषको जीवनको बारेमा किन बुझ्नुपर्छ र कति फैलिन र गहिराइमा जानुपर्छ भन्ने प्रश्न पनि छ । पुरुषको जीवन र पितृसत्ता एकआपसमा जोडिएका कुरा हुन् । सबै ऐतिहासिक कालखण्ड र समाजमा यसको रूप एकै प्रकारको नभए तापनि पुरुषलाई कुनै नकुनै रूपबाट महत्वपूर्ण बनाइराख्नु पितृसत्ताको रहर नभई बाध्यता पनि हो ।

    त्यसैले कहीं घरमूलीको रूपमा त कहीं धर्मगुरुको रूपमा वा कहीं नेताको रूपमा, उनीहरूको प्रभुत्व देखिन्छ । प्रसिद्ध मानवशास्त्री शेरी अटनरले आफ्नो इज फिमेल टु मेल एज नेचर टु कल्चर पुस्तकमा जैविक नभए तापनि पुरुष महिलाबीचको असमानता संसारको सबै समाजमा विद्यमान रहेको तर्क गर्छिन् ।

    जसरी सिमोन डि बोवुआरले भने जस्तै महिला जन्मिने होइन, महिलापनको निर्माण हुन्छ त्यसरी नै पुरुषत्वको पनि निर्माण हुन्छ । जन्मजात नभई पछि बन्दै जाने भएकोले यसको स्वरुप पनि ऐतिहासिक कालखण्ड र समाज अनुरूप फरक–फरक हुन्छ ।

    विविध राजनैतिक, आर्थिक र सामाजिक तत्वहरूले पुरुषपनको निर्माणमा सक्रिय भूमिका खेलेका हुन्छन् । त्यसैले त एकल पुरुषपनको कुरा नगरेर विविध पुरुषपनको कुरा गरिन्छ । उदाहरणको लागि विषाक्त पुरुषपन ।

    अलिअलि सुविधा सबै पुरुषलाई दिएर र थोरै पुरुषहरू जो आर्थिक, सामाजिक र राजनैतिक रूपमा समाजमा ठूलो हैसियत राख्छन्, उनीहरूलाई झन् बलियो बनाउन सहज बनाएर पितृसत्ताले आमरूपमा, पुरुष मार्फत महिलामाथि हैकम जमाएको हुन्छ ।

    त्यसो त महिला माथि महिलाले नै हैकम जमाइराखेका पनि छन् । महिलाहरूलाई पनि पितृसत्ताको वाहक बनाएर यसले आफ्नो सत्ता लम्ब्याउन लागिपर्छ भन्ने बारेका प्रसिद्ध नारीवादी इतिहासविद् उमा चक्रवर्ती सहित धेरैले कलम चलाएका छन् ।

    तर गहिराइमा जाने हो भने आम पुरुषको पिल्साइ पनि कम महत्वपूर्ण हुँदैन । सकी–नसकी घरमूलीको भूमिका निर्वाह गर्ने अधबंैसे पुरुषदेखि खाडी मुलुकमा गएर ज्यान जोखिममा पारेर कमाएको पैसाले परिवारको सुनौलो भविष्य देख्ने युवा पुरुषसम्म पितृसत्ताको जकडमा छन् (मिश्र, मायाको शासन र बलात्कार, २०२२) ।

    पुरुष भएपछि कमाउन र परिवार पाल्न त पर्छ नि भनी पितृसत्ताद्वारा परिभाषित पुरुषको स्वरुपबाट भिन्न जीवन जिउने कल्पना वा आँट गर्न गाह्रो छ, धेरै पुरुषहरूलाई । त्यसैले जसरी महिलाहरू पितृसत्ताको मारमा परेका हुन्छन्, त्यसरी नै पुरुषहरूको जीवनलाई पनि यसले जकडेको हुन्छ भन्ने कुरा पुरुष स्वयंले, आम महिला र महिलावादीहरूले बुझ्नुपर्ने, बुझाउनुपर्ने र त्यसमा काम गर्नुपर्ने बेला हो यो ।

    यो विषय पुरुषले मात्रै बुझ्नुपर्ने हो कि सबैले भन्ने प्रश्नमा यदि भासिनले भने जस्तै समानता, विकास र शान्तिको महिलावादी प्रयास पुरुषको साथ विना सम्भव छैन भन्ने मान्ने हो भने र महिला हिंसा अन्त्यको लागि पुरुषको साथ अनिवार्य आवश्यकता हो भने पुरुषत्वको अध्ययन सबैको लागि हो ।

    बेल हुक्सले आफ्नो किताब फेमिनिज्म इज् फर एभ्रिबडीमा पुरुषहरूलाई पितृसत्तालाई चुनौती दिंदाखेरि आफूले पाएको सुविधा गुम्ला र गुमेपछिको जीवन कस्तो हुन्छ भन्ने एक खालको छट्पटी हुन्छ । महिला नारीवादीहरूले उनीहरूलाई सहज बनाउन मद्दत गर्न सक्छन् र गर्नु पनि पर्छ । तर त्यसमा चुकेका छन् भनी सचेत गराउने काम पनि गरेकी छिन् ।

    नारीवादी कमला भासिन आफ्नो पुस्तक एक्सप्लोरिंग मस्क्युलिनिटीमा लेख्छिन्, ‘पुरुषको महिलामाथिको हिंसा बुझ्न र न्यूनीकरण गर्न पुरुषत्वको निर्माण कसरी हुन्छ भनी जान्नु अत्यावश्यक छ ।’

    यो विषय पुरुषले मात्रै बुझ्नुपर्ने हो कि सबैले भन्ने प्रश्नमा यदि भासिनले भने जस्तै समानता, विकास र शान्तिको महिलावादी प्रयास पुरुषको साथ विना सम्भव छैन भन्ने मान्ने हो भने र महिला हिंसा अन्त्यको लागि पुरुषको साथ अनिवार्य आवश्यकता हो भने पुरुषत्वको अध्ययन सबैको लागि हो ।

    महिला, महिलावादीहरूले पनि पुरुषको जीवनलाई राम्रोसँग बुझ्ने, पितृसत्ताबाट उनीहरूले पाएको फाइदा र वेफाइदा दुबै केलाउन र विश्लेषण गर्न खोज्नुपर्छ ।

    यही कुरालाई इतिहासविद् रोजलिन वोह्यानलमले अझ प्रष्ट पारेकी छिन् । उनी भन्छिन्, ‘पुरुषत्वको अध्ययन आवश्यक छ, किनकि यसको सोझो सम्बन्ध शक्तिसँग हुन्छ ।

    महिलाहरूको जीवन पनि यही शक्ति सम्बन्धसँग जोडिएकोले पनि यो बुझाइ आवश्यक छ । पुरुषहरू पनि लंैगिक व्यक्ति हुन् । उनीहरूले आफूलाई पुरुषको रूपमा कसरी बुझिरहेका हुन्छन्, के के सामाजिक आर्थिक कुराहरूले उनीहरूकोे निर्माणमा सघाउँछ र पुरुषत्वलाई दिगो बनाइराखेको छ ? कस्ता कस्ता सामाजिक सम्बन्धले उनीहरूलाई एकआपसमा जोडिराखेको छ ? साथै पुरुषबीचको तहगत जीवन र बहिष्करणले पुरुषबीच नै भिन्नता कसरी आउँछ ?

    मैले यो लेख लेख्ने क्रममा एउटा सानो समूह जो नारीवाद, लैंगिक अध्ययन र नागरिक आन्दोलनसँग केही न केही रूपमा जोडिएका थिए, उनीहरूसँग कुराकानी गरेकी थिएँ । मैले कुराको सुरुवात संसारका विभिन्न ठाउँहरूमा पुरुषत्वको अध्ययन हुन्छ, त्यसैले हामीकहाँ पनि अब यो अध्ययनको खाँचो महसुस हुँदै गएको छ भन्नेबाट गरें ।

    यही क्रममा मैले पाएको जवाफले अहिलेको नेपाली समाजको केही झल्को भने पक्कै दिन्छ । एकले कुराको सुरुवात यसरी गरे, ‘पहिला महिला अध्ययन, अनि लैंगिक अध्ययन, अब पुरुषत्वको अध्ययन । के के मात्र थप्दै जाने !’ अर्कोले थपे, ‘लैंगिक अध्ययन त पुरुषको लागि पनि होइन र ? के थप कुरा हुन्छ र यसमा ? भएकै कुरालाई राम्रोसँग पढाउनुपर्छ जस्तो लाग्छ मलाई त, विषय थप्दै लैजाने रोग नै लागिसक्यो नेपालको शिक्षा क्षेत्रलाई ।’

    उनीहरूको भनाइ केही हदसम्म ठिकै पनि हो । किनकि महिला अध्ययन मूल रूपमा महिलामाथि नै केन्द्रित हुने भएकोले पुरुष र लैंगिक तथा यौनिक अल्पसंख्यकको जीवनलाई राम्रोसँग समेट्न नसकेको कारणले लैंगिक अध्ययनको सुरुवात भएको हो ।

    यसमा पुरुष, पुरुषत्व, यसका विविध रूप, विषाक्त पुरुषत्व र समाजमा यसको नकारात्मक असर, इत्यादिको पठनपाठन त हुन्छ, तर जति गहिराइमा गएर र फैलिएर यसको पठनपाठन हुनुपर्ने हो, त्यो चाहिं पक्कै हुनसकेको छैन ।

    नहुनुको पछाडि दुईवटा प्रमुख कारणहरू देखा पर्दछन् । पहिलो कारण, लैंगिक अध्ययन पुरुषको मात्रै जीवनलाई मध्यनजरमा राखेर गरिने अध्ययन होइन, महिला अध्ययन जस्तो । यसमा महिला, पुरुष र लैंगिक तथा यौनिक अल्पसंख्यकको बारेमा पठनपाठन हुन्छ ।

    दोस्रो कुरा, संसारभरि नै लैंगिक अध्ययन भनिए तापनि महिलाकै बारेमा धेरै कुराहरू गरिन्छ । यो कुरालाई वारेन फरेलले डज फेमिनिज्म डिस्क्रिमिनेट अगेन्स्ट मेनमा जोड दिएर लेखेका छन् ।

    साथै मैले लैंगिक अध्ययनका पुरुष विद्यार्थीसँग कुराकानी गर्ने क्रममा पनि पुरुषको जीवनका विविध पक्षलाई लैंगिक अध्ययनले समेट्न नसकेको र यो विषय मूलरूपमा महिलाकै जीवनको सेरोफेरोमा घुमेको कुरा गरेका छन् ।

    पुरुषत्वको अध्ययनलाई प्राज्ञिक क्षेत्रसँग कसरी जोड्न सकिन्छ !

    संसारको इतिहास केलाउँदा र नेपालकै अनुभवलाई हेर्दा पनि के कुरा प्रष्ट हुन्छ भने शिक्षासँग लैंगिक विषयलाई जोड्ने काम क्रमिक रूपमा भएको छ । शिक्षा प्रणाली पुरुषमुखी भएकोले त्यसमा महिलाका जीवन समेटिएन वा उनीहरूका जीवनलाई तोडमरोड गरेर सामाजिक ज्ञानको निर्माण भयो भन्ने बुझाइ महिला नारीवादीहरूमा सन् १९६० देखि नै भएको हो ।

    त्यो बुझाइले उनीहरूलाई महिलाको जीवनको अनुभवलाई समेटिएको नयाँ ज्ञानको निर्माण गर्नुपर्छ भन्ने निष्कर्षमा पु¥यायो । यसको लागि विविध प्रयास भएका छन् । जस्तो भइरहेकै विषयमा लैंगिकतालाई समावेश गर्ने, लैंगिकतासँग जोडिएका विषयहरू थप गर्ने वा छुट्टै महिला अध्ययन खोल्ने ।

    नेपालमा पनि यी सबै प्रकारका प्रयासहरू क्रमिक रूपमा भएका देखिन्छन् । सुरुमा त्रिवि अन्तर्गत गृहविज्ञान स्नातकोत्तर तहमा सन् १९९० तिर लैंगिकता समावेश गर्ने काम भयो । जस्तो उक्त विषयमा सामाजिकीकरण सम्बन्धी पठनपाठनको लामो इतिहास रहेकोमा उक्त सामाजिकीकरणलाई लैंगिक सामाजिकीकरणको नामले पढाउन पाठ्यक्रमलाई परिमार्जित गरियो । यसरी पाठ्यक्रमलाई लैंगिक रूपमा परिमार्जित गर्दै जाने क्रममा शिक्षकहरू नै लैंगिक रूपमा सचेत बन्दै गएका छन् ।

    त्यसपछि सन् १९९६ मा त्रिवि अन्तर्गत पहिलो पल्ट ‘महिला अध्ययन’ लाई छुट्टै विषयको रूपमा पठनपाठनमा समावेश गरियो । त्यसको लगत्तै त्रिवि अन्तर्गतका विभिन्न विभागहरूले लैंगिक अध्ययन सम्बन्धी छुट्टै एक पेपर आफ्नो विषयमा थप गर्न थाले ।

    उदाहरणको लागि समाजशास्त्रमा । त्यसपछि सबै विभागहरूले केही न केही रूपमा लैंगिकतालाई आफ्नो विषयसँग जोड्दै लगेको इतिहास हामीसँग छ । त्यसपछि ‘महिला अध्ययन’ ले मात्रै लैंगिकताको अध्ययनलाई पूर्णता दिन सक्दैन, किनकि पुरुष र लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको जीवनलाई पनि यो अध्ययनमा समावेश गर्नुपर्छ भनी त्रिवि अन्तर्गत सन् २००९ मा लैंगिक अध्ययनलाई स्नातकोत्तर तहमा सुरु गरियो ।

    अहिले आएर पुरुषत्वको अध्ययनको पनि आवश्यकता देखिएको छ वा पुरुषत्वको अध्ययनको बारेमा पनि छलफल र वकालत सुरु भएको छ । यी सबै प्रयासहरूमा महिला नारीवादीहरूले लगातार अगुवाइ र एड्भोकेसी गरेका छन् ।

    संसारको इतिहासले देखाउँछ कि नारीवादी सोचले यी प्रयासहरूलाई बल दिन्छ । नेपालमा पनि मीना आचार्यको बुझाइमा सन् १९९० पछि नेपाली महिलाहरूको लैंगिक सोच वा नारीवादी सोच बढेर गएको फलस्वरुप पनि नेपाली नारीवादीहरूले प्राज्ञिक क्षेत्रद्वारा लैंगिक समानता प्राप्त गर्न लागिपरेको देखिन्छ ।

    नारीवाद र पुरुषत्वको अध्ययनको सम्बन्ध

    चाहे त्यो महिला अध्ययन होस्, लैंगिक अध्ययन होस् वा पुरुषत्वको अध्ययन, सबैको नारीवादसँग सोझो सम्बन्ध छ । किनकि सबै प्रकारको अध्ययनको मूल उद्देश्य भनेको लैंगिक रूपमा सचेत भएर शिक्षाको माध्यमबाट पितृसत्तालाई चुनौती दिनु नै हो ।

    सैला रुथले आफ्नो किताब इन्ट्रोडक्सन टु वुमेन्स स्टडिजमा महिला अध्ययन नारीवादी आन्दोलनको उपज हो भनी तर्क अगाडि सारेकी छिन् भने सञ्जय श्रीवास्तवले आफ्नो लेख मस्क्युलिनिटी स्टडिज एन्ड फेमिनिज्म : अदरिंग द सेल्फमा पुरुषत्वको अध्ययन कुनै राजनैतिक एक्टिभिजमबाट नभई नारीवादसँगको लगातारको छलफलपछि आएको हो भनी नारीवादसँग पुरुषत्वको अध्ययनलाई जोड्ने काम गरेका छन् । नारीवादसँग यो अध्ययनको महत्वपूर्ण सम्बन्ध छ ।

    पहिलो कुरा, पुरुषत्वको अध्ययन नारीवादबाट अलग छैन । यो नारीवादकै भाग हो । दोस्रो, जसरी सुरुमा अर्थात्, सन् १९६० को दशकमा अमेरिकामा र सन् १९९० को दशकमा नेपालमा नारीवादी सोच राख्ने महिलाहरूले महिला अध्ययनको लागि वकालत गरे, त्यसरी नै सन् १९७० को दशकमा अमेरिका, युरोपमा जस्तै नेपालमा भर्खरै नारीवादी सोच राख्ने पुरुषहरू यो अध्ययनको आवश्यकताको बारेमा छलफलमा जुटेका छन् ।

    यो छलफलमा कैयौं महिला नारीवादीहरूको पनि साथ रहेको देखिन्छ । लैंगिक अध्ययन विभागको पनि दरिलो साथ छ । माथि भनिए जस्तै पितृसत्तालाई चुनौती दिने जुनसुकै अध्ययन पनि नारीवादीहरूको लागि महत्वपूर्ण हुन्छ र हुनुपर्छ ।

    पुरुषत्व अध्ययनका चुनौती

    पुरुषत्वको अध्ययन महत्वपूर्ण हुनुको साथै यसका केही चुनौती पनि छन् । चुनौतीका प्रकार के के हुन् भनी बुझ्ने र विश्लेषण गर्न खोज्ने हो भने समाधान पनि पत्ता लगाउन सकिन्छ । केही प्रमुख चुनौतीको बारेमा तल व्याख्या गरिएको छ ।

    १. पुरुषहरूको सहभागिता माथि प्रश्न

    पुरुष आफैंलाई कति सहज लाग्छ यो विषय पढ्न भन्ने महत्वपूर्ण प्रश्न छ किनकि आफैंलाई चुनौती दिने अध्ययन हो यो । आफूले भोगिरहेका सुविधाहरूलाई नै आलोचनात्मक रूपमा हेर्नुपर्ने हुन्छ यो अध्ययनमा । सञ्जय श्रीवास्तव यो अध्ययनलाई लिएर तर्क गर्छन्, ‘पुरुषहरूले आफैंलाई प्रश्न गर्नुपर्ने छलफलमा कसरी भाग लिन्छन्, त्यो हेर्न बाँकी नै छ ।’

    पुरुषत्वलाई बुझ्ने र केलाउने क्रममा पुरुष भएको नाताले आफैंले पाइरहेको सुविधाहरू माथि प्रश्न गर्ने आँट गर्नुपर्छ । महिलालाई पनि एउटा स्वतन्त्र व्यक्तिको रूपमा बुझ्ने र व्यवहार गर्नुपर्छ । यो आँट सजिलै आउँदैन ।

    जुन किसिमबाट सामाजिक संरचनाले (घर, परिवार, स्कुल, मिडिया इत्यादि) उनीहरूको व्यक्तित्व निर्माण गरेको हुन्छ, त्यसलाई चुनौती दिन सजिलो छैन ।

    कुराकानीको क्रममा एक जना विद्यार्थी, जो विवाहित र वच्चाबच्चीको बाबु पनि थिए; भन्दैथिए, ‘कार्यालयमा बरु लैंगिक रूपमा सचेत भएर काम गर्न सजिलो किनकि आजकाल सबैतिर लैंगिक सचेतनाका कुराहरू नै बढी हुन्छ, तर घरमा झन् गाह्रो । मेरी श्रीमती मैले जति भने पनि मान्दै मान्दिनन्, घरको काम उसैको जिम्मा हो भन्ठान्छिन् । अरूसँग बाँड्न तयार छैनन् । मलाई त झन् केही गर्न नै दिन्नन्, झगडै पर्छ कहिलेकाहीं त !

    २. अध्ययनको निरन्तरता माथि प्रश्न

    पुरुषत्वको अध्ययन अध्यापन निरन्तर चलिरहनुपर्छ । यो नै आफैंमा ठूलो चुनौती हो । लगाव विना यो सम्भव छैन । पुरुषत्व र पितृसत्तालाई जोडेर हेर्न सक्ने र यसको नकारात्मक असरलाई आफ्नै जीवनमा अनुभव गर्ने र यसलाई चुनौती दिन प्रयास गर्ने पुरुषहरू सही अर्थमा नारीवादी हुन्छन् । उनीहरूले नै यस्ता अध्ययनलाई निरन्तरता दिन सक्छन् । किनकि नारीवादप्रति उनीहरूको अपनत्व पनि हुन्छ ।

    नारीवाद मेरो लागि पनि हो, मैले सोचे अनुरुपको लैंगिक समानता र समतामूलक समाज बनाउन नारीवाद उपयोगी हुन्छ भन्ने ठान्नु र पितृसत्तालाई चुनौती दिनु भनेको महिलाको लागि मात्र नभई मेरो लागि पनि फाइदाजनक छ भन्ने कुरामा बलियो विश्वास पनि हुन्छ ।

    म र म जस्ता लैंगिक अध्ययनमा लगाव भएका मेरा अरू साथीहरू लैंगिक अध्ययनलाई कसरी निरन्तरता दिन सकिन्छ होला भन्ने बारेमा छलफल गरिरहन्छौं । न आर्थिक रूपमा सबल छ विभाग, विद्यार्थीको शुल्कको भरमा चल्छ । न अरू किसिमको सुविधा छ ।

    कहिलेकाहीं त मलाई नै लाग्छ, केले तानेको होला यो विभागमा । अब त उमेर पनि भइसक्यो तैपनि किन हामीहरू निरन्तर लागिराखेका छौं । विषयप्रतिको लगाव नै त होला नि, तानिराख्ने ?

    बरु विभिन्न माध्यमबाट पुरुषहरूमा नारीवादी सोच विकसित गर्ने र नारीवादप्रति अपनत्व जगाउन मद्दत गर्न सकिन्छ । उदाहरणको लागि हाल त्रिवि अन्तर्गत चलिरहेको लैंगिक अध्ययन । त्यसैले त्यस्ता पुरुषहरूलाई शंकाकोे दृष्टिकोणले हेर्नुपर्ने आवश्यक हुँदैन ।

    ३. महिला नारीवादीको शंका

    महिलावाद मूलरूपमा महिलाको लागि हो, महिलावाद सबैको लागि हो । र महिलावाद महिलाको लागि मात्र हो भन्ने विविध धारमा महिलावादीहरू बाँडिएका छन् । सो अनुरूप नै पुरुषको नारीवादसँगको संलग्नतालाई व्याख्या पनि गरिराखेका छन् ।

    जो जैविक भिन्नताको कारणले महिलाको अनुभव र पुरुषको अनुभव भिन्न–भिन्न हुने भएकोले महिलाले अनुभव गर्ने पीडा पुरुषले कहिल्यै पनि अनुभव गर्दैन वा गर्न सक्दैन, त्यसैले उनीहरू नारीवादी हुन सक्दैनन् भनी तर्क गर्दछन् ।

    जस्तो पुरुषलाई नारीवादी त मान्ने, तर पुरुष, महिला, लैंगिक तथा यौनिक अल्पसंख्यक सबैले महिलालाई ‘मध्यनजर’मा राख्नुपर्छ । यो कुरा खासगरी पुरुषहरूको लागि चुनौतीपूर्ण देखिन्छ ।

    जो पुरुष र लैंगिक तथा यौनिक अल्पसंख्यकलाई पनि नारीवादले ठाउँ दिनुपर्छ भनी ठान्दछन्, तर महिलावादले मध्यनजरमा महिलालाई नै राख्नुपर्छ भनी वकालत गर्दछन्, उनीहरूलाई डर के छ भने पुरुषको नारीवादी संलग्नताले कहीं महिलाहरूकै मुद्दा त ओझेलमा पर्ने होइन । फेरि पुरुष नै महिलाका विषयमा पनि जान्ने भएर देखापर्ने त होइनन्, भिन्न खोल ओढेर इत्यादि ।

    उनीहरूमा छटपटी पनि छ, नारीवादमा पुरुषको संलग्नतालाई कसरी बुझ्ने र व्याख्या गर्ने भनेर । उदाहरणको लागि पुरुषत्वको अध्ययन । कति महत्वपूर्ण विषय हो यो र महिला नारीवादीको कुन तहको संलग्नता हुनुपर्छ भन्ने बारेमा केही सुझाव उनीहरूसँग नभएको होइन ।

    जस्तो पुरुषलाई नारीवादी त मान्ने, तर पुरुष, महिला, लैंगिक तथा यौनिक अल्पसंख्यक सबैले महिलालाई ‘मध्यनजर’मा राख्नुपर्छ । यो कुरा खासगरी पुरुषहरूको लागि चुनौतीपूर्ण देखिन्छ ।

    यो चुनौतीलाई एक जना विद्यार्थीको भनाइले प्रष्ट पार्छ; उनी भन्छन्, ‘धेरै महिलावादीहरूलाई हाम्रो समस्या समस्या नै लाग्दैन, उनीहरूले भोग्नुपरेको भए पो थाहा हुन्थ्यो, पुरुष भएर बाँच्न कति गाह्रो हुन्छ भनेर । सधैं महिलाकै कुरा अगाडि आउँछ । हामीलाई पनि नारीवादी मान्ने कहिले हुन् ?’

    ४. पुरुष नारीवादीहरूको महिला नारीवादी बारेको बुझाइ

    जसरी पुरुषको साथ विना नारीवादी आन्दोलन सम्भव छैन भन्ने बुझाइ छ, त्यसरी नै महिला नारीवादीको साथ विना यो अध्ययनको निरन्तरता सम्भव छैन । त्यसको लागि महिला नारीवादीले पुरुषलाई नारीवादी भनेर विश्वास गर्नुपर्‍यो । तर त्यो हुन सकिरहेको छैन । एकजना लैंगिक अध्ययनका विद्यार्थीसँग नारीवादमा लाग्दाखेरिका मूल चुनौती के के ठान्नुहुन्छ भनी प्रश्न गर्दा महिला नारीवादीहरूको अविश्वासलाई प्रमुख चुनौतीको रूपमा औंल्याए ।

    उनी भन्छन्, ‘पुरुषलाई महिलालाई जस्तो नारीवादी हुन सजिलो छैन । आफैंसँग लड्नुपर्छ पहिला । फेरि समाजमा पनि म नारीवादी भन्दाखेरि हाँसोको रूपमा हेर्छन् हामीलाई । त्यसरी विविध कठिनाइको बीचबाट गुज्रिएका हामीलाई नारीवादीले नै शंकाको दृष्टिकोणबाट हेर्नु, पुरुषलाई नारीवादी नबन भन्नु नै हो जस्तो लाग्छ मलाई ।’ नारीवादी बन्दै गएका पुरुषहरूप्रति महिला नारीवादीहरूले सकारात्मक सोचाइ राख्नुपर्ने बारे लेखहरू आइरहेका छन् ।

    उदाहरणको लागि साहुन उइलि र उनका साथीहरूले १२० जना पुरुषहरूसँग गरेको कुराकानीमा आधारित लेख । यो लेखको मूल भनाइ भनेको नारीवादी पुरुषहरूको जीवनलाई सकारात्मक रूपमा प्रस्तुत गर्नाले युवा पुरुषहरूमा नारीवादप्रति सकारात्मक असर पर्दछ ।

    आर्थिक स्रोत–साधन र प्रशासनिक कठिनाइ

    प्रशासनमा बसेको मान्छेको किन चाहियो यो अध्ययन भन्ने प्रश्न पहिलो चुनौतीको रूपमा देखा पर्न सक्छ । किनकि यस्तै चुनौतीको सामना महिला अध्ययन खोल्दा पनि भएको थियो । महिला अध्ययन सुरु हुँदाखेरि पहिलो प्रतिक्रिया भनेको नै महिला अध्ययन भनेको के हो ?

    पद्मकन्या कलेज भनेको नै महिलालाई मात्र भनेर खोलिएको कलेज भएकोले यो नै महिला अध्ययन होइन र ? फेरि छुट्टै के पढाइ हुन्छ यसमा भन्ने सामान्य जिज्ञासादेखि यो नारीवादी उत्पादन गर्ने विषय पो रहेछ । पद्मकन्या कलेजले त देशकै लागि कुशल नेतृहरू तयार गर्छ, नारीवादी बनाउने विषय पढाउने ठाउँ होइन यो भनी प्रशासनिक तहबाटै प्रतिरोधको सामना गर्नु परेको थियो ।

    थप, आर्थिक स्रोत अर्को समस्या हुनसक्छ । महिला अध्ययन खुलेको तीन दशक र जेन्डर स्टडिजको १५ वर्ष हुन लागिसक्दा पनि यी विभागहरू मूल रूपमा विद्यार्थीको फीले चलेको छ । त्रिविको आर्थिक सहयोग छैन । त्यसैले आर्थिक स्रोत जुटाउने पाटो चुनौतीपूर्ण हुनसक्छ ।

    अन्त्यमा, पुरुषत्वको अध्ययन लैंगिक समानता र समतामूलक समाज निर्माणको लागि अनिवार्य आवश्यकता भएकोले नारीवादीहरूले यसको लागि पहल गर्नुको विकल्प छैन । यस अध्ययनको चुनौतीलाई राम्रोसँग केलाउने र समाधानको बाटो पहिल्याउन प्रयास गर्ने हो भने पितृसत्तालाई कमजोर पार्न यो भरपर्दो माध्यम हुनसक्छ ।

    मिश्र त्रिविकी प्राध्यापक हुन् ।


    Khabar kura
  • बुधबार, २४ माघ २०८०
  • सम्बन्धित समाचार