logo

२०८१ साउन ३ बिहिबार

logo
  • बिहिबार, ३ साउन २०८१
  • नेपाल प्रज्ञा–प्रतिष्ठानको ३६ औँ प्राज्ञ सभा सम्पन्नः २५ करोड २६ लाख बजेट तर्जुमा

    नेपाल प्रज्ञा–प्रतिष्ठानको ३६ औँ प्राज्ञ सभा सम्पन्नः २५ करोड २६ लाख बजेट तर्जुमा

    • sunne kura
    • मंगलबार, ३० कार्तिक २०७८
    1.1K
    SHARES

    २०७८ कात्तिक २८ गते आइतबारका दिन बिहान ९:३० बजे प्रज्ञा भवनको प्रज्ञा–सम प्रेक्षालयमा आयोजित भव्य समारोहमा सम्माननीय प्रधानमन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक श्री शेरबहादुर देउवाले पानसमा दीप प्रज्वलन गरेर नेपाल प्रज्ञा–प्रतिष्ठानको ३६ औँ प्राज्ञ सभाको समुद्घाटन गर्नुभयो ।



    समारोह नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति श्री गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा आयोजना भएको थियो । समारोह राष्ट्रगानबाट सुरु भएको थियो ।

    समारोहका प्रमुख अतिथि प्रधानमन्त्री देउवाले समुद्घाटन समारोहलाई सारगर्वितरूपमा सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्रीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पना, बालचन्द्र शर्माको प्राज्ञिक भूमिका र तत्कालीन राजा महेन्द्रको भाषा, साहित्य, कला र संस्कृति प्रतिको प्रेमको प्रतिफल स्वरूप स्थापना भएको यस नेपाल प्रज्ञा प्रतिष्ठानले आजका दिनसम्म आइपुग्दा प्राज्ञिक क्षेत्रमा निकै उल्लेखनीय कामहरू गरिसकेको र आगामी दिनमा पनि यसरी नै अगाडि बढिरहने विश्वास लिएको बताउनुभयो ।

    उहाँले नेपालको भौगोलिक बनोट, सप्तरङ्गी इन्द्रेनी समाज, वीरतापूर्ण इतिहास र गौरवशाली पुर्खाको योगदानलाई मात्र समेट्न सक्ने हो भने पनि हजारौँ साहित्यिक कृतिहरू सिर्जना हुन सक्ने बताउँदै यहाँका हिमाल, पहाड, तराई र उपत्यकाभित्र रहेका हरेक खोला, खोल्सा, ढुङ्गा, रुख, चौतारी, मठमन्दिर, गुम्बा, देवालय आदिका आआफ्नै अमर कथाहरू छन्, प्रत्येक जाति र संस्कृतिसँग जोडिएका अनगिन्ती प्राज्ञिक सामग्रीहरू छन् र नेपाली पौरख र नेपाली गौरवभित्र लुकेर बसेका कैयौँ सम्पदाहरू रहेका र तिनको खोजी तथा प्रकाशन आजको प्रमुख आवश्यकता रहेको बताउनुभयो ।

    हामीले हाम्रो अपार बौद्धिक सम्पत्तिलाई विश्वसामु पस्कने बेला यही हो भन्दै उहाँले यस्तो प्राज्ञिक कार्यको नेतृत्व नेपाल प्रज्ञा–प्रतिष्ठानले लिनुपर्छ र लिइरहेको पनि छ भन्दै सन्तोष व्यक्त गर्नुभयो ।

    उहाँले भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन, सामाजिक शास्त्र आदि जस्ता कुराहरू देशलाई चिनाउने आधार हुन् भन्दै देश भौतिक रूपमा जतिसुकै सम्पन्न भए पनि त्यस देशको सांस्कृतिक पक्ष कमजोर छ भने त्यसले अपेक्षित समृद्धि हासिल गर्न नसक्ने जनाउनुभयो ।

    उहाँले देशले प्रज्ञा–प्रतिष्ठान जस्ता प्राज्ञिक संस्थाहरूबाट गर्ने अपेक्षा भनेको सांस्कृतिक क्षेत्रको सर्वाङ्गीण विकास नै हो भन्दै नेपाल प्रज्ञा–प्रतिष्ठानले कानुनतः निर्धारित भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्र जस्ता विषय क्षेत्रसँग सम्बन्धित विभिन्न विषयहरूको केन्द्रीयतामा रहेर अध्ययन, अनुसन्धान, गोष्ठी, सम्मेलन, कार्यशाला र प्रकाशनका माध्यमबाट राष्ट्रका प्राज्ञिक आकाङ्क्षाहरूलाई परिपूर्ति गर्नका लागि ऐतिहासिक कामहरू गरिरहेको बताउनुभयो ।

    परिवर्तित समाजको अपेक्षाअनुसारका नवीन कृतिहरूको प्रकाशन, पूर्वप्रकाशित तर हाल अप्राप्य अवस्थामा रहेका महत्त्वपूर्ण कृतिहरूको पुनः प्रकाशन र युगको मागअनुसारका प्राज्ञिक सामग्रीहरूको उत्पादनमा प्रज्ञा–प्रतिष्ठानले सन्तोषजनक कार्यसम्पादन गरिरहेको जानकारी मैले पाएको छु । नेपाली बृहत् शब्दकोशलाई मोबाइल एपमा विकास गरेको हुनाले आज संसारभरका नेपालीहरूलाई नेपाली शब्दकोश प्रयोगमा सजिलो भएको छ भन्दै उहाँले अझै एक लाख पचास हजार शब्दभन्दा माथिको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ प्रकाशन गर्ने कार्य अन्तिम चरणमा पुगेको कुरा सुन्दा अत्यन्त खुसी लागेको जनाउनुभयो । साथै पाँच हजारभन्दा बढी नेपाली लेखक तथा साहित्यकारहरूको परिचय एकै ठाउँमा समेटेर प्रकाशन हुन लागेको ‘लेखक साहित्यकार परिचयकोश’ अनि लेखक साहित्यकार परिचय–पत्र वितरण कार्यले प्रज्ञा–प्रतिष्ठानलाई सम्पूर्ण लेखक तथा साहित्यकारहरूको साझा थलोका रूपमा स्थापित गर्न निकै ठूलो भूमिका खेल्ने बताउनुभयो ।

    महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय निर्माण कार्यको थालनी भएको र यसै वर्ष सम्पन्न गरिने कुराले हामी सबैलाई गौरवबोध गराएको छ भन्दै उहाँले यसरी नै आधिकारिक व्याकरणका रूपमा ‘प्रज्ञा शैक्षणिक व्याकरण’, नेपालका भौगोलिक, सामाजिक तथा सांस्कृतिक पक्षहरू समेटिएका नेपाल चिनाउने तस्बिरहरूको सङ्ग्रह ‘तस्बिरमा नेपाल’, देशका सातै प्रदेश र ७७ ओटै जिल्ला र दार्जिलिङदेखि बर्मासम्मका नेपाली लोकजीवनबाट सङ्कलन गरिएका लोककथाहरूको सङ्ग्रह ‘प्रज्ञा नेपाली लोककथा’ जस्ता महत्त्वपूर्ण नयाँ सामग्रीहरू प्रकाशन भइसकेका र यसै वर्ष ‘सनातन संस्कृतिकोश’, ‘नेपाली दर्शन’, ‘लोकवार्ताकोश’, ‘नेपाली कविताको इतिहास’, ‘नेपाली बालसाहित्यको इतिहास’ जस्ता प्राज्ञिक सामग्रीहरूको प्रकाशन गर्ने योजना रहेको सुन्दा मलाई अत्यन्त खुसी लागेको जनाउनुभयो ।

    प्रधानमन्त्री देउवाले प्राज्ञ सभाको यस ३६ औँ बैठकको समुद्घाटन समारोहमा आजसम्म सम्पन्न भइसकेका कामका लागि हार्दिक बधाई दिन्छु र आगामी योजनाहरूको पूर्णताका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु भन्नुभयो।

    उहाँले यस बैठकले नेपालको सांस्कृतिक समृद्धिका लागि दूरगामी प्रभाव पार्ने गरीका ऐतिहासिक निर्णयहरू गर्ने छ भन्ने विश्वास पनि मैले लिएको छु भन्दै प्रज्ञा–प्रतिष्ठानले अगाडि सारेका यस्ता प्राज्ञिक कामहरूमा नेपाल सरकारका तर्फबाट सदैव साथ, सहयोग र सद्भाव रहिरहने बताउनुभयो ।

    यस्ता राष्ट्रिय गौरवका कुनै पनि कामहरू आर्थिक अभावका कारण रोकिनु हुँदैन भन्ने कुरामा नेपाल सरकार सदैव सचेत रहेको जनाउँदै उहाँले प्रज्ञा–प्रतिष्ठानले थालनी गरेका ऐतिहासिक महत्त्व राख्ने कामहरूका लागि नेपाल सरकारका तर्फबाट आर्थिक, प्राविधिक तथा प्रशासनिक जस्तोसुकै सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

    यसै गरी समारोहका विशिष्ट अतिथि माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका संरक्षक प्रेमबहादुर आलेले समुद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानले कोरोना भाइरस ‘कोभिड– १९’ को महामारीबाट सिङ्गै देश नै प्रभावित बनिरहेका बेलामा पनि कोरोना कहरबाट सृजित प्रतिकूल परिस्थितिका बाबजुद उपलब्ध स्रोतसाधनको अधिकतम सदुपयोग गरी ३६ ओटा गोष्ठी, कार्यशाला र सम्मेलन तथा ८४ ओटा अध्ययन/अनुसन्धान सम्पन्न गर्नु, १३४ ओटा पुस्तकहरू प्रकाशनलगायतका कार्य गरी शत्प्रतिशत उपलब्धि हासिल गर्न सक्नु अत्यन्त प्रशंसनीय कार्य भएको विचार व्यक्त गर्नुभएको थियो ।

    समारोहका सभाध्यक्ष नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सभाध्यक्षको आसनबाट बोल्दै समारोहमा उपस्थित भएर सम्माननीय प्रधानमन्त्रीज्यूले प्रज्ञा–प्रतिष्ठानका कार्यहरूबारे गर्नुभएको प्रशंसा र दिनुभएको निर्देशनको प्रज्ञा–प्रतिष्ठानले पालना गर्ने बताउनुभयो ।

    उहाँले नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय गौरवका धेरै कार्यहरू सम्पन्न गरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र अनुवादका क्षेत्रमा प्रज्ञा–प्रतिष्ठानले धेरै महत्वपूर्ण काम गरेको बताउनुभयो ।

    उहाँले राष्ट्रको बहुलतालाई सम्बोधन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रज्ञा–प्रतिष्ठान पुगेको प्रस्ट्याउनुभयो । उहाँले भन्नुभयो– “नेपाल बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्र हो । त्यसैले नेपालका सबै जातजातिका भाषा, संस्कृति, साहित्य, दर्शन तथा सामाजिक शास्त्रका विविध क्षेत्रको अध्ययन/अनुसन्धान, संरक्षण र विकास गर्नु तथा यसका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रको गौरव वृद्धि गर्नुलाई नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो दायित्व ठान्दै आएको छ र त्यसका लागि यो संस्था अनवरत क्रियाशील रहँदै आएको छ ।”

    प्रज्ञा–प्रतिष्ठानका माननीय उपकुलपति डा. जगमान गुरुङले समारोहमा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा उहाँले भन्नुभयो— “हामीहरू लिच्छविकाललाई नेपालको स्वर्णयुग भन्दछौँ । लिच्छविकालका शासकहरूले राजनीति र प्राज्ञिक कार्यलाई सँगसँगै बढाएका हुनाले नै लिच्छविकाल स्वर्णयुग भएको हो । प्रज्ञा भनेको लोकको नेत्र हो । नेपाल प्रज्ञा–प्रतिष्ठान राष्ट्रको शिरफूल हो । यसले राष्ट्रका लागि प्राज्ञिक कार्यको आपूर्ति गर्दछ । राष्ट्रको उन्नयनका लागि, राष्ट्रको समृद्धिका लागि राजनीतिक वर्ग र प्राज्ञिक वर्गको समान दायित्व रहेको हुन्छ । जुन राष्ट्रका प्रज्ञा–प्रतिष्ठानहरूले राष्ट्रमा अध्ययन, अनुसन्धान गरी गहन कृतिहरू प्रकाशन गर्दछन्, त्यो राष्ट्रको उन्नति हुन्छ ।”

    उहाँले नेपाल राष्ट्रको उन्नयन र समृद्धिका लागि राजनीतिक र प्राज्ञिक वर्ग एक भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

    समारोहमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति कान्छाकुमार कर्माचार्य (केके कर्माचार्य) ले समृद्ध नेपाल बनाउनका लागि कला तथा साहित्यमा सरकारले लगानी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भाषा, साहित्य, कला, संस्कृति, सङ्गीत जस्ता विधामा सरकारले लगानी गर्नैपर्ने विचार व्यक्त गर्नुभयो ।

    नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ले प्राज्ञ सभाको बैठककको पूर्ण सफलताको कामना गर्नुभएको थियो ।

    नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय पूर्व कुलपति बैरागी काइँलाले हिमालयको काखमा रहेको नेपाल ज्ञानको अद्वितीय खानी भएको र सो ज्ञानलाई सर्वत्र पु-याउनका लागि नै राष्ट्रमा नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको स्थापना गरिएको हो विचार व्यक्त गर्नुभएको थियो । उहाँले प्रज्ञा–प्रतिष्ठानले राष्ट्रलाई ज्ञानको उच्चतम शिखरमा पु-याइरहेको धारणा राख्नुभएको थियो । प्रज्ञा–प्रतिष्ठान सुरु गरेको लेखक/साहित्यकार परिचय–पत्रका सम्बन्धमा उहाँले भन्नुभयो— “प्रज्ञा–प्रतिष्ठानले हामीलाई लेखक/साहित्यकार परिचय–पत्र प्रदान गरेर राम्रो कार्य गरेको छ । कतिपय देशमा जाँदा म लेखक हुँ भन्यो भने कुन देशको लेखक भनेर सोध्थे तर अब यो परिचय–पत्रले त्यो प्रश्नको जबाफ दिएको छ । प्लेन चढ्दा पनि परिचय–पत्र चाहिन्छ । यो परिचय–पत्रले अब प्लेन चढ्न दिन्छ नै होला । पर्यटन मन्त्री यहीँ हुनुहुन्छ । यसको उपादयेता धेरै नै छ । धेरै हुन सक्छ । सिर्जनात्मक काममा लागेका लेखक/साहित्यकारहरूका लागि यो ठुलो मूल्याङ्कनको कुरा हो ।”

    वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले प्रज्ञा–प्रतिष्ठानले पुराना, अप्राप्य र महत्वपूर्ण कृतिहरू प्रकाशन गर्दै जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– “यसबाट प्रज्ञा–प्रतिष्ठानलाई आम्दानी पनि हुन्छ र पाठकले ज्ञानको लाभ लिन सक्छन् ।”

    प्रज्ञा–प्रतिष्ठान सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाँले प्रज्ञा–प्रतिष्ठानको स्थापनाकालदेखि विभिन्न समयमा प्रकाशन भएका तर हाल बजारमा अप्राप्य अवस्थामा रहेका महत्वपूर्ण ग्रन्थहरूलाई आवश्यक परिमार्जनसहित पुनः प्रकाशन गर्ने निर्णय प्राज्ञ परिषद्बाट भएअनुरूप अमरकोश, भरतमुनिको नाट्यशास्त्र, नेपाली निघण्टु, नेपालका प्राचीन अभिलेख, पूर्वीय काव्यसिद्धान्त, एरिस्टोटल र उनको काव्यशास्त्र, शुक्रनीतिलगायत कतिपय महत्त्वपूर्ण पुस्तकहरू छापिइसकेको र कतिपय छपाइका क्रममा रहेको बताउनुभयो । उहाँले तस्बिरमा नेपाल, मानव यात्राः सृष्टिदेखि प्रथमा संस्कृतिसम्म, मातृभाषाको रूपरेखा, नेपाली शैक्षणिक व्याकरण, नेपाली कविताको प्रादेशिक इतिहास, प्रज्ञा नेपाली लोककथा, गोर्खाली युद्धबन्दीका लोकभाका र लोककथा, नेपाली समालोचनाको इतिहास, किराती लोकसाहित्य, मातृभाषा साहित्यको इतिहास, वैदिक समाज र दर्शन, वैदिक साम्यवाद र वैज्ञानिक समाजवादको तुलनात्मक अध्ययन, नेपाली राष्ट्रियताको विकासमा मगर पुजारीहरूको भूमिका, प्रज्ञा नेपाली समालोचना (हिन्दी अनुवाद) लगायतका ग्रन्थहरू प्रकाशित हुनु महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो । उहाँले नेपाल चिनाउने नेपाल दर्पण महाग्रन्थ तयारी र प्रकाशन लगायतका अनुसन्धानमूलक कार्यका लागि सरकारलाई आवश्यक सहयोगको आग्रह गर्नुहुँदै महाकवि देवकोटा सङ्ग्रहलाय आगमी वर्षको असारमा पूरा गर्ने लक्ष्य रहेको जानकारी गराउनुभयो ।

    समारोहमा सम्माननीय प्रधानमन्त्री देउवाले बहुप्रतिक्षित लेखक/साहित्यकार परिचय–पत्र वितरण कार्यको आरम्भ गर्नुभयो । प्रधानमन्त्रीबाट पूर्व सदस्य सचिव तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्व कुलपति बैरागी काइँला, पूर्व उपकुलपति प्रा.डा. वासुदेव त्रिपाठी र पूर्व सदस्य सचिव गीता केशरीलाई परिचय–पत्र प्रदान गरी लेखक/साहित्यकार परिचय–पत्र वितरण आरम्भ गर्नुभएको थियो ।

    सोही अवसरमा प्रधानमन्त्री देउवाले नेपाल प्रज्ञा–प्रतिष्ठानको पुनः डिजाइन गरिएको वेबसाइटको औपचारिक आरम्भ समेत गर्नुभएको थियो ।

    वेबसाइटमा अनलाइनबाटै हल बुकिङ तथा पुस्तक–पत्रिका बिक्री वितरणको समेत व्यवस्था गरिएको छ । वेबसाइटका विशेषताका बारेमा सनश्री टेक्नोलोजीका प्रवन्ध निर्देशक ई. सञ्जीव उपाध्यायले जानकारी गराउनुभएको थियो ।

    सम्माननीय प्रधानमन्त्री देउवा र माननीय संस्कृति मन्त्री आलेलाई कुलपति उप्रेतीले नेपाल प्रज्ञा–प्रतिष्ठानका महत्त्वपूर्ण प्रकाशनहरू उपहारस्वरूप अर्पण गर्नुभएको थियो ।

    प्रधानमन्त्री देउवा र संस्कृति आलेद्वारा भरतबन्धु थापाद्वारा तयार पारिएको ‘तस्बिरमा नेपाल’ नामक तस्बिर–पुस्तक सार्वजनिकसमेत गर्नुभएको थियो ।

    उद्घाटन समारोह कार्यक्रमको सञ्चालन प्राज्ञ सभा सदस्य तथा सञ्चार एवम् डायास्पोरा संयोजक शशी लुमुम्बूले गर्नुभएको थियो ।
    चालू आ.व.को बजेट २५ करोड ४६ लाख
    समुद्घाटन समारोहपछि नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सभाको ३६ औँ बैठक देवकोटा सभा कक्षमा बसेको थियो । कुलपति एवम् प्राज्ञ सभाका अध्यक्ष गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा बसेको प्राज्ञ सभाको बैठकमा सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
    सभामा सदस्य सचिव प्रा. उपाध्यायले गत आ.व.को यथार्थ आय रु १७ करोड ५७ लाख ६७ हजार र व्यय रु १७ करोड २० लाख ७८ हजारसहित कार्यक्रमिक गतिविधिको विवरण प्रस्तुत गर्नुभएको थियो ।

    सम्पन्न प्राज्ञ सभाको ३६ औँ बैठकले चालु आर्थिक वर्षका लागि रु २५ करोड ४६ लाखको बजेट तथा कार्यक्रम तर्जुमा गरेको छ । कोभिड–१९ महामारीका कारण नेपाल सरकारको बजेट कटौती तथा प्रज्ञा–प्रतिष्ठानको आन्तरिक आम्दानीमा कमी आएका कारण उक्त रकम मात्रको बजेट तथा कार्यक्रम सभाबाट पारित गरिएको हो ।

    प्राज्ञ सभाको बैठकले वरिष्ठ साहित्यकार डा. तारानाथ शर्मालाई गत साउन १ गते र कवि नरेशकुमार शाक्यलाई गत भदौ १ गतेदेखि लागु हुने गरी आजीवन सदस्यता र प्रा.डा. वीरेन्द्रप्रसाद मिश्रलाई मानार्थ प्राज्ञ सदस्यता दिने निर्णयको अनुमोदन गरेको छ ।


    sunne kura
  • मंगलबार, ३० कार्तिक २०७८
  • सम्बन्धित समाचार